काठमाडौँ । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ५० महिला र ३७५ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थपिएकासँगै संक्रमितको संख्या ५७६० पुगेको छ ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ४३६ महिला र ५ हजार ३२४ पुरुष रहेका छन् ।

आइतबार थप एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुष रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार आइतबार रुकुमपूर्व थप भई ७३ जिल्ला पुगेको छ । यसैगरी, आइतबार ६१ जना निको भई घर फर्किएका छन् । यससँगै हालसम्म ९७४ जना बिरामी निको भइरहेका छन् । जसमा ९७ महिला र ८७७ पुरुष रहेका छन् ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा पछिल्लोपटक ५६८९ जनामा पिसिआर परीक्षण गरिएको जनाएको छ ।

नेपालमा हालसम्म १ लाख ३३ हजार ३७७ जनाको पिसिआर विधिबाट र २ लाख १० हजार ७२१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो चौबिस घन्टामा २० हजार १३९ जनामा आरडिटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ४३ हजार ६४१ जना रहेका छन् भने ४७६७ जना आइसोलेसनमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया