चितवन । रत्ननगर–१०, चितवनमा रहेको प्यारागन मावि/क्वेष्ट मोडल कलेजले प्रि–नर्सरी देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुको सम्पूर्ण अभिभावकहरुलाई एकसाथ विद्यालयको आफ्नै मोवाइल एप्लिकेसन प्यारागन सेकेण्डरी स्कुलमार्फत भर्चुल मिटिङ्ग सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गणित विषयका लेखक दयाराम सिंखडा, किड्स पब्लिकेशनका लेखक एवम् कुशल प्रशिक्षक रेखा शाही हमाल, आइसिटी विज्ञ सुरेशचन्द्र आचार्य र मनोपरामर्श विज्ञ गोपीलाल श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्राचार्य जगदीश चन्द्र शर्माले अहिलेको परिस्थितिमा विद्यालयको आफ्नै मोबाइल एप्लिकेसनमार्फत अनलाइन शिक्षण गर्ने यस क्षेत्रकै एकमात्र विद्यालय भएकोले विद्यालयलाई प्रविधिमैत्री बनाउन वल्डलिंक र एनटिसीका करर्पोट प्लानलाई विद्यालयमा जोडिएको, विद्युत आपूर्ति बन्द हुँदा पनि कक्षाहरु सञ्चालन गर्नका लागि इन्भटर, जेनेटरको ब्यवस्था मिलाइएको जानकारी गराए ।
प्राचार्य शर्माले यस क्षेत्रको पहिलो डिजिटल विद्यालय बनाउने अभियानमा अहिले विद्यालय निरन्तर लागिरहेको बताए । उनले नेपाल सरकारले जारी गरेको पछिल्लो अवधारणाअनुरुप विद्यालयले आफूलाई पूर्णरुपमा अनलाइन शिक्षणका लागि स्तर अभिवृद्धि गरिरहेको बताए ।
प्राचार्य शर्माले लकडाउनको शुरुवात केही हप्तासम्म साना कक्षा विद्यार्थीहरुका लागि गृहकार्य परियोजना फाइल वितरण गरिएको र ठूला कक्षाहरुका लागि कक्षागत र विषयगत भिडियो पाठ्य सामग्री फेसबुक पेजमा अपलोड गरी शिक्षण गरिएकोमा हाल सबै कक्षाहरुलाई ब्वबस्थित रुपमा अनलाइन शिक्षण गराइरहेको जानकारी गराए ।
शिक्षक अभिभावक संघका अध्यक्ष रमाकान्त पौडेल र सचिव टेकबहादुर कुँवरलगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालयका स–प्राचार्य दोइन्द्रबहादुर पौडेलले सञ्चालन गरेका थिए भने अर्का स–प्राचार्य उमराज आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस क्षेत्रमा विद्यालयस्तरमा यो प्रकारको कार्यक्रम पहिलो र ऐतिहासिक भएको र आगामी दिनहरुमा प्रत्येक हप्ता विभिन्न क्षेत्रका विज्ञहरुसंग अभिभावकहरुलाई विद्यालयको मोबाइल एप्लिकेसनमार्फत साक्षात्कार गराउने कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी गराउँदै करिब ३ घन्टा सञ्चालन भएको उक्त कार्यक्रम अध्यक्ष निराजन खनालको सभापतित्वमा समापन भएको थियो ।

तपाईको प्रतिक्रिया