भरतपुर । नेपाली कांग्रेस चितवनले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा पनि देशमा भ्रष्टाचार भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ध्यानाकर्षणसहितको ज्ञापनपत्र प्रजिअ नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कांग्रेसले १७ वटा बुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसमा क्वारेन्टाइन व्यवस्थापन, क्षमता अभिवृद्धि, कोरोना परीक्षण, उपचार कक्षको व्यवस्था, राहत वितरण, नागरिकको उद्धारलगायतका विषयमा ध्यानाकर्षण भएको जनाएको हो । यस्तै ध्यानाकर्षण पत्रमा अस्पतालहरुमा भएको अनियमितता र लापर्वाही, संयन्त्र निर्माण कर छूटलगायतका विषय रहेका छन् ।

ज्ञापनपत्र बुझाउँदै कांग्रेस चितवनका सभापति श्रेष्ठले राज्य अहिले उदासीन बनेको बताए । राज्य जनताप्रति उत्तरदायी बन्न नसक्दा जनताले दुःख पाएको उनको भनाइ थियो । आफूहरुको ध्यानाकर्षणप्रति सरकार जिम्मेवार नबने आफूहरु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उनले बताए ।

यस्तै, कांग्रेस चितवनका सचिव उत्तम जोशीले सरकारका कामहरु प्रति जनताको निरासा बढेकाले ज्ञापनपत्र बुझाउनु परेको बताए । राज्यले बोल्ने एउटा र गर्ने अर्को गरेको उनको भनाइ थियो ।

कोरोनाको नाममा भएको अनियमितता र भ्रष्टाचार रोक्न सरकारले नसकेको उनको आरोप छ । कांग्रेसको केन्द्रीय परिपत्रअनुसार ७७ जिल्लाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

तपाईको प्रतिक्रिया