
चितवन । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण धराशयी बनेको चितवनको पर्यटकीय नगरी सौराहाका पर्यटन व्यवसायीहरुलाई हात्ती पाल्न सकस भएको छ । ठूलो धनराशि खर्च गरेर हात्ती किनेका व्यवसायीहरु यतिबेला रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् ।
लकडाउनको समयमा हात्ती सफारीमात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ ।
सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ । पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो । हात्ती पाल्ने व्यवसायीले मानिसको भन्दा हात्तीको बढी चिन्ता हुन थालेको जनाएका छन् । हाल सौराहामा ६० निजी हात्ती रहेको बताइन्छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई पहिले हात्ती सफारीमा जाँदा हरियो घाँस खाने गरेको भए पनि अहिले पराल र धानमा निर्भर हुनुपरेको बताउँछन् । उनले भने, “हात्तीका लागि सञ्चय गरेको खाद्यान्न सकिन लाग्यो कसरी बचाउने चिन्ता हुन थाल्यो ।”
चितवन राष्ट्रिय निकुञ्जमा पालिएका एउटा हात्तीलाई दैनिक न्यूनतम् ३५० किलो घाँस, १० किलो धान र २५ ग्राम वीरेनुन दिने गरिएको छ । निजी हात्तीलाई त्यसकै तलमाथि दिने गरिन्छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे हात्तीको आहाराको सन्तुलन नमिलेमा पछिसम्म समस्या पर्न सक्ने बताउँछन् । एकातर्फ खाद्यान्नको अभाव हुँदै गएको छ भने अर्कोतर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिँडाउनु, डुलाउनु र चराउँनु राम्रो हुने उनको भनाइ छ । निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाइदिएमा हात्ती जोगाउन सकिने घिमिरेले बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा ६४ वटा हात्ती रहेका छन् । ती हात्तीको रेखदेख गर्न १ सय २३ जना कर्मचारी छन् । व्यवसायीहरुले निकुञ्जभित्र हात्ती सफारी गर्न दिनुपर्ने माग गर्दै आएको भए पनि अनुमति पाउन सकेका छैनन् ।
निकुञ्जमा पालिएका एउटा हात्तीलाई दैनिक न्यूनतम ३ सय ५० किलो घाँस, १० किलो धान र २५ ग्राम बिरेनुन दिने गरिएको छ । नीजि हात्तीहरुलाई त्यसकै तलमाथि दिने गरिन्छ । एउटा हात्ती हेर्नका लागि तीन जना कर्मचारी आवश्यक पर्दछ । उनीहरुको तलब भत्ता र पालन पोषण सामान्य भए पनि हात्ती पाल्न भने निकै कठिन भइरहेको भट्टराईले जानकारी दिए ।
विसं २०७५ असोज २९ गते निकुञ्जको नियमावली संसोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो । बाहिरका हात्तीभित्र जाँदा रोग सार्न सक्ने खतरा देखिएकाले रोकिएको निकुञ्जको भनाइ छ । व्यवसायीहरुले नीजि हात्ती निकुञ्ज छिर्न पाउनुपर्ने माग गर्दै आएका छन् । हात्ती पाल्न कठिन हुने र पशु अधिकारकर्मीले हात्तीमाथि मान्छे चढाउन नहुने भन्दै विरोध गरेपछि व्यवसायीहरु नयाँ मनस्थितिका साथ अघि बढेका छन् ।
उनीहरुमध्ये धेरै अहिले त्यसलाई खुवाउनै नसक्ने अवस्थामा पुग्न थालेका छन् ।
सौराहामा वषौँदेखि हात्तीलाई पर्यटकलाई जंगल सफारी गराउने माध्यमको रुपमा प्रयोग गरिँदै आएको छ । हात्तीको माध्यमबाट पर्यटन क्षेत्रले ठूलो फाइदा पनि गर्दै आएको थियो । तर कोरोना भाइरसको महामारीसँगैको लकडाउनले पर्यटकको आगमन नै बन्द भएपछि अहिले उनीहरुलाई हात्ती पाल्नै धौ–धौ हुन थालेको हो ।
सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार ७० वटा घरपालुवा हात्ती सौराहामा छन् । पर्यटक बोकेर वरपरका सामुदायिक वनहरुमा डुलाउने गरेका ती हात्तीहरु अहिले आराम गरिरहेका छन् ।
हात्तीपालकहरुका अनुसार एउटा हात्तीले दैनिक २५० लिटरसम्म पानी २० किलो धान, २५० ग्राम ढिक्का नुन, एक केजी चना, मासिक दुई टेलर पराल खान्छ । माउते र फनितगरी दुई जना कर्मचारीलाई समेत गरी मासिक ७० हजार देखि १ लाख रुपैयाँसम्मको खर्च हात्तीका लागि आवश्यकपर्ने तिवारी बताउँछन् । “तर तीन महिनादेखि हात्तीले काम नपाउँदा पालकहरु मर्कामा परेका छन्”, तिवारीले भने, “हात्ती पाल्नै नसकिने अवस्था आउन थाल्यो ।”
यहाँका हात्तीहरुलाई केही समय अघिसम्म चितवन राष्ट्रिय निकुञ्जले मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बद्रेनी मध्यवर्ती वनमा चर्न छुट दिएको थियो । खोरसोरस्थित हात्ती प्रजनन् केन्द्र नजिकै रहेको उक्त वनमा चैत १५ देखि जेठ १८ गतेसम्म हात्ती चराए पनि अहिले निकुञ्जले सो क्षेत्रमा प्रवेशमा रोक लगाएको छ ।
क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले पर्यटन क्षेत्र धरासयी बन्दै गएको अवस्थामा ठूलो लगानी भएको हात्तीले घाँस खान पनि नपाउनु दुःखद भएको बताए । “व्यवसायीहरुको खर्च धान्न सक्ने अवस्था नै छैन”, उनले भने, “निकुञ्जले यस विषयमा सहजीकरण गर्नु आवश्यक छ ।”
हात्ती पालक व्यवसायीहरुले हात्तीलाई मध्यवर्ती क्षेत्रमा चरिचरणको व्यवस्था गर्न निकुञ्जसँग माग गर्दै यसो नगरिए सबै हात्तीहरु जंगल छोड्ने अवस्था आउने बताएका छन् ।