काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५८६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४० महिला र ५४६ पुरुष रहेका छन् ।

नेपालमा शुक्रबार ४४८, शनिबार २७३, आइतबार ४२५, सोमबार ५५१ र मंगलबार ३८० जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थपिएकासँगै संक्रमितको संख्या ७१७७ पुगेको छ ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ५३९ महिला र ६ हजार ८३८ पुरुष रहेका छन् ।

यसैबीच, कोभिड–१९ का कारणले थप एक जनाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­ ६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड–१९ का कारणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।

मिर्गौलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पतालमा भर्ना भएकामा असार १ गते निधन भएको मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती महिलाको असार १ गते स्वाब संकलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा बुधबार देखिएको संक्रमण हालसम्मकै धेरै हो । यसैबीच, बुधबार नौ जना पुरुष डिस्चार्ज भएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना रहेका छन् ।

यससँगै निको भई घर फर्किनेको संख्या ११६७ जना पुगेका छन् । जसमध्ये ११२ महिला र १०५५ पुरुष रहेका छन् । हालसम्म एक लाख ४९ हजार ७७२ जनाको पिसिआर विधिबाट र दुई लाख ३३ हजार ९४३ जनाको आरडिटी परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म ७३ बढी जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख २५ हजार ७९८ जना रहेका छन् भने आइसोलेसनमा ५९९० जना उपचाररत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया