काठमाडौँ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै सङ्क्रमितको सङ्ख्या ८२७४ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितमध्ये ८८ महिला र ३३८ पुरुष छन् ।

नेपालमा हालसम्म २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १४०२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेसनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिँदै आएको छ । देशका ७४ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया