काठमाडौँ । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३३१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या ८६०५ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा हालसम्म २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १५७५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ७ हजार ४१६ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको परीक्षण गरिएको छ ।
देशका ७४ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ ।















