काठमाडौँ । नेपालमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । जसमा ६४ महिला र ३५७ पुरुष छन् ।

यो सँगै सङ्क्रमितको सङ्ख्या ९०२६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ पुरुष रहेका छन् ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।

नेपालमा हालसम्म २३ जनाको मृत्यु भएको छ । आइतबार थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ ।

आइतबार मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीया पुरुष रहेका छन् । उनी प्यारालाइसिसको उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा आठ महिलासहित थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १७७२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभरका २२ वटा प्रयोगशालामा ६ हजार ८०० गरी आइतबारसम्म पिसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमुनाको परीक्षण गरिएको छ ।

देशभर ९४ हजार ९२८ जना क्वारेन्टाइनमा र ७२३१ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया