सप्तरी । सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षका मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् ।

भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को संक्रमणमा परेका उनी १२ दिनको आइसोलेसन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताए ।

‘बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको संक्रमण सुनेर अत्तालिएकी थिएँ’, बालककी आमाले भनिन्, ‘उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ ।’ जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाए ।

बालक र आमालाई राजविराजस्थित क्वारेन्टाइनमा बसेको १४ दिनपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ‘म त बाल्यकालदेखि नै रोगी, त्यसमा कोरोना थपियो । चिन्ता मानेको भए परिणाम अर्को हुन्थ्यो होला । कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा अठोट गरेँ’ बालकले भने ।

डिस्चार्ज भएका अरु पनि भारतबाट आएका हुन् । सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन् । एक सय ५८ कोरोना भाइरसबाट संक्रमित भएको सप्तरीमा १२ महिला छन् । रासस

तपाईको प्रतिक्रिया