चितवन । पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीनवटा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

सांसद् पाण्डेले यहाँका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकालाई ५०–५० वटाका दरले पिपिई सेट, एन नाइन्टी मास्क, फेससिल, हेल्मेट, ग्लोब्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

रत्ननगर नगरपालिकामार्फत पाण्डेले स्वास्थ्य सामग्री रत्ननगर अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष मेयर नारायण वन र मेसु डा. विश्वबन्धु बगालेलाई पाण्डेले सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा सांसद् पाण्डेले प्रदेश सरकारले स्तरोन्नति गरेको रत्ननगर अस्पतालको विकासका लागि केन्द्र सरकारले पनि सहयोग गर्ने बताए । सरकारको बजेटसँगै सो अस्पतालको विकासका लागि दातृ निकायसँग बजेट माग गरेको नेता पाण्डेले बताए । ‘स्तरोन्नति गरेरमात्रै हुँदैन’, उनले भने, ‘स्तरोन्नति गरेपछि डाक्टरको दरबन्दी थप, भौतिक पूर्वाधार निर्माण र सेवा थप हुनुपर्छ ।’ उनले रत्ननगर अस्पताललाई करिब १०० बेडको बनाइने जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रत्ननगरले संयोजन गरेको सो कार्यक्रममा प्रदेश सांसद् कृष्णप्रसाद खनाल, कञ्चन खनाल, नेता काशीनाथ अधिकारी, रत्ननगरकी उपमेयर विमला दुवाडी, पार्टीका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, पार्टीका नेता तथा वडाध्यक्षहरुको सहभागिता थियो ।

त्यसैगरी, सांसद् पाण्डेले राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सामग्री हस्तान्तरण गरेका थिए ।

खैरहनी र राप्तीमा भएको कार्यक्रममा सांसद् पाण्डेले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सामग्रीका अलावा सकभर घरमै बस्ने र बाहिर निस्किनु परे सामाजिक दूरी कायम राख्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया