चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा मंगलबार परीक्षण भएकामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालले जनाएअनुसार परीक्षण भएका १२१ वटा नमुनामध्ये तनहुँ देवघाट ५ बस्ने वर्ष २३ का एक पुरुष, नवलपुर गैँडाकोट १ बस्ने वर्ष ३३ र ५१ का दुईजना महिला, गैँडाकोट १२ नवलपुर बस्ने वर्ष ५६ की एक महिला र चितवन जिल्ला कालिका नगरपालिका ३ बस्ने वर्ष ३९ का एकजना पुरुष गरी पाँच जनामा कोरोना पुष्टि भएको हो ।
बाँकी ११६ वटा नमुनाको पिसिआर नतिजा भने नेगेटिभ रहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
मंगलबार भरतपुर अस्पतालको १२, सिएमसीको ७, विनयी त्रिवेणी गाउँपालिकाको १५, भरतपुर महानगरपालिकाको १३, नारायणी सामुदायिक अस्पतालको १, खैरहनी नगरपालिकाको ४, सिएमएसको ४, गैँडाकोट नगरपालिकाको २०, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९, कालिका नगरपालिकाको २० र देवघाट गाउँपालिकाको ६ वटा नमुना परीक्षण भएको थियो ।











