काठमाडौँ । होटलहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।

महासंघका अध्यक्ष हिराध्वज शाहले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन् ।

कोरोना सङ्क्रमण सुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महंगो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासंघको ठहर छ ।

महासंघले कतार, मलेसिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महंगा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ ।

महासंघले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छूटको व्यवस्था गर्न आग्रह गरेको छ ।

महासंघका सचिव नारायण गुरुङले महामारीले पूर्णरूपमा असर पुर्याएको होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले होटल व्यवसायका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले ऋण तथा किस्ता तिर्ने समयावधि दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था मिलाउन आग्रह गरे ।

अहिलेसम्म होटल व्यवसायीले राज्यबाट कुनै पनि सुविधा नपाएको भन्दै महासंघले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत माग गरेको छ । बन्दाबन्दीका कारण होटल क्षेत्रबाट विस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने महासंघले बताएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायको आर्थिक भार दिनानुदिन बढ्न गई यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्था देखिएकाले यस अवस्थालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्ने महासंघको भनाइ छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पर्यटन व्यवसायसँग नीति, नियम बनाउँदा महासंघको राय सुझावलाई समेत समेट्न महासंघलाई प्रतिनिधित्व गराउन आग्रह गरेको छ । मुलुकको ७७ वटै जिल्लामा फैलिएको महासंघमा झण्डै ८० हजार होटल व्यवसायीहरु आबद्ध छन् । रासस

तपाईको प्रतिक्रिया