काठमाडौँ । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ४८ महिला र ३८६ पुरुष गरी ४३४ जनामा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा ११४२ महिला र १० हजार २० पुरुष रहेका छन् ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८ र बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको छ । बिहीबार थप दुई जनाको मृत्यु भएको हो । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो ।

नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले बताए ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका स्याङ्जा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उपचारका क्रममा बुधबार राति ११ः३५ बजे उनको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उनलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १९ महिला र २७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २६५० पुगेको छ । जसमा २१६ महिला र २४३४ पुरुष रहेका छन् ।

देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । २४ घन्टामा पिसिआर विधिबाट छ हजार ५४३ जना र आरडिटी विधिबाट चार हजार १३७ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार देशभर हालसम्म एक लाख ९९ हजार ७३७ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दुई लाख ८७ हजार ८३३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७४ हजार २२ जना क्वारेन्टाइननमा र ८४८६ जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया