
भरतपुर । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटबन्धका लागि रू ५० अर्ब माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिंचाइ विभागमा पेश गरेको छ ।
आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार ती दुवै नदीमा तटबन्ध र त्यसमाथि ग्राबेल बाटो हुनेछ । आयोजनाले तयार गरेको प्रतिवेदनमा नारायणी नदीको नवलपरासीतर्फ ६३ किलोमिटर तटबन्ध गरिनेछ । यसअघि तटबन्ध गरिएको १० किलोमिटर क्षेत्रलाई मर्मत सम्भार गरिने छ ।
उनका अनुसार नारायणीको चितवनतर्फ ५० किलोमिटर तटबन्ध गरिनेछ । पहिले निर्माण भएको १३ किलोमिटर भागलाई मर्मत गरिने छ । राप्तीमा चितवन र मकवानपुर क्षेत्रको १०५ किलोमिटर मध्ये स्वीस परियोजनाले पूर्वी चितवनमा गरेको तटबन्धको बाहेकको भूभाग तटबन्ध गरिनेछ ।
तटवबधको माथि डिलमा ६ मिटर फराकिलो ग्राबेल सडक हुने उनले जानकारी दिए । नदीतर्फ ग्याबिन जालीबाट संरक्षण गरिनेछ । उनले विभागमा प्रतिवेदनको विषयमा छलफलपछि स्वीकृत भएसँगै गुरूयोजना निर्माणमा लाग्ने बताए ।
तटबन्धमा ठूलो खर्च लाग्ने भएकाले दाता र ऋणको खोजी गरिँदैछ । राप्ती र नारायणीको चितवनतर्फको भागमा लगानी गर्न एसियन डेभलोपमेन्ट बैंकले चासो देखाएको उनले जानकारी दिए । सो बैंकका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरिसकेका छन् । कुन ढङ्गले उनीहरु सहकार्य गर्न तयार हुन्छन् पछि थाहा हुने उनको भनाइ छ ।
विसं २०६६ मा जनताको तटबन्ध नामक आयोजनामार्फत नारायणी नदीमा तटबन्ध थालिएको हो । पछि सोही आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी व्यवस्थापन आयोजना भएको हो । सो आयोजनाले हरेक वर्ष काम गर्दै आएको भए पनि बजेट अभावका कारण सोचेजस्तो काम हुन सकेको छैन ।
सो आयोजनाले जोखिमपूर्ण ठाउँहरुमा तटबन्ध गरिदिँदा चितवन र नवलपरासीका धेरै भूभाग जोगिएका छन् । हालसम्म नदी तटबन्धनमा रू एक अर्ब ७२ करोड खर्च भई सकेको आयोजनाले जनाएको छ । रासस