काठमाडौँ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी ५९३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा ३६९ महिला र १० हजार ९३८ पुरुष रहेका छन् ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४ र शुक्रबार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म २८ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेका छन् ।
नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । पछिल्लोपटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २८३४ पुगेको छ । जसमा २४२ महिला र २५९२ पुरुष रहेका छन् ।
२४ घन्टामा पिसिआर विधिबाट ४ हजार ६०६ जना र आरडिटी विधिबाट ३ हजार ६८५ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
उनका अनुसार देशभर हालसम्म २ लाख १० हजार ८७७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७५ हजार ७१२ जना क्वारेन्टाइनमा र ९ हजार ४४७ जना आइसोलेसनमा रहेका छन् ।