काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलियोएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ४६३ जनामा संक्रमण पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३ र शनिबार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा १३ महिला र १६६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३०१३ पुगेको छ । जसमा २५५ महिला र २७५८ पुरुष रहेका छन् ।
२४ घन्टामा पिसिआर विधिबाट ४ हजार ९६३ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार देशभर हालसम्म २ लाख १५ हजार ८४० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल ६५ हजार ७१२ जना क्वारेन्टाइनमा र ९ हजार ९१० जना आइसोलेसनमा रहेका छन् ।