
चितवन । चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय युवा परिषद्ले बागमती प्रदेशबाट खैरहनी
नगरपालिकालाई युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो ।
युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रमअन्र्तगत युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि २०७६ अनुसार खैरहनी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कृत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । उत्कृष्ट भएसँगै खैरहनीले ५ लाख रुपैयाँ पुरस्कारसमेत पाएको छ ।
सो पुरस्कार रकम युवालक्षित कार्यक्रमका लागि खर्च गर्नुपर्ने राष्ट्रिय युवा परिषद्ले जनाएको छ । युवा परिषद्ले जारी गरेको सूचनाको म्यादभित्र सूचकहरुमा आधारित रही स्वःमूल्यांकन फारम तथा विवरण पेश गरेका पालिकाहरुमध्ये प्रत्येक प्रदेशबाट उच्चतम अंक प्राप्त गर्नेमा खैरहनी परेको हो ।
मूल्यांकन समितिको जेठ ३० गते गरेको सिफारिस तथा आइतबार परिषद् कार्यकारी उपाध्यक्षस्तरीय निर्णयबाट खैरहनीलाई छनोट गरेको हो । खैरहनी
नगरपालिका प्रमुख लालमणि चौधरीले बागमती प्रदेशमा खैरहनी युवामैत्री नगर घोषित हुनुमा सम्पूर्ण नगरवासीको साथ र सहयोग रहेको भन्दै नगरका लागि
ऐतिहासिक उपलब्धि प्राप्त गरेको प्रतिक्रिया दिए ।
प्रमुख चौधरीका अनुसार नगरको प्रत्येक वडामा वडास्तरीय युवा क्लब गठन, नगरस्तरी युवा सञ्जाल गठनपश्चात् युवालक्षित कार्यक्रम, उनीहरुलाई परिचालनलगायतले उत्कृष्ट भएको दाबी गरे । आगामी आर्थिक वर्षमा पनि खैरहनीले युवालक्षित थुप्रै कार्यक्रम समावेश गरेको प्रमुख चौधरीको भनाइ छ ।
प्रदेश १ बाट उदयपुरको चौदण्डीगढी नगरपालिका, प्रदेश २ बाट महोत्तरीको बर्दिवास नगरपालिका, गण्डकी प्रदेशबाट कास्कीको रुपा गाउँपालिका, प्रदेश ५ बाट दाङको तुलसीपुर उपमहानगरपालिका, कर्णाली प्रदेशबाट दैलेखको महाँवु गाउँपालिका र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरको बेलौरी नगरपालिका पनि उत्कृष्ट पालिकाको रुपमा छनाट भएका छन् ।