चितवन । चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भरतपुरमा रहेको चितवन ग्रीन लायन्स क्लबले माडी ठोरी सडकअन्तरगत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।
करिब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल ३२५ बि टु का सेकेण्ड भिडिजी रामप्रसाद भट्ट, विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिने कार्यक्रमका संयोजक एवम् क्लबका इलेक्ट अध्यक्ष सुमन कोइरालाले बताए ।
आधुनिक शौचालयमा छुट्टाछुटै तीनवटा कोठा, अपाङ्गमैत्री एक वटा, महिलाहरुको लागि तीन वटा र पुरुषको लागि चार वटा युरिनल र एक वटा ट्वाइलेट रहने छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न लागिएको वातावरणमैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा वन्यजन्तु संरक्षणसम्बन्धी सूचनाहरुका लागि सूचना पाटीसमेत राखिने क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनु पर्ने परिस्थिति हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको महत्त्व विशेष रहने बताए ।
त्यस्तै स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको यस क्लबले सार्वजनिक शौचालयको निर्माण सुरु गरेकोमा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद भट्टले खुसी व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रममा निमित्त शिक्षा अधिकृत प्रकृति संरक्षण शिक्षालय कसराका प्रमुख सेनानी चक्रबहादुर शाह, बटुक दल गण कसरा ब्यारेकका प्रमुख सेनानी अरुण श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराई, इलेक्ट चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित जोन चियर पर्सन एवम् क्लबका पूर्वअध्यक्ष माधव रेग्मी, समाजसेवी श्रीप्रसाद दवाडी, क्लबका पूर्वअध्यक्षहरुलगायत क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।














