काठमाडौँ । नेपालमा बुधबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ११७ महिला र ३६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । जसमा १२ हजार २७२ पुरुष र एक हजार ७७४ महिला रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा संक्रमण देखिएको छ । संक्रमित भएका बालबालिकाहरु भारतबाट आमाबुबासँगै आएको उनले बताए । यस्तै सुदूरपश्चिम प्रदेशमा १७५ बालबालिका ९ वर्ष मुनिका छन् । डा गौतमले बालबालिकालाई संक्रमण देखिएकाले बाहिर नजान आग्रह गरेका छन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता विभिन्न मुलुकबाट नेपाल फर्किएकामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण हुनेमध्ये ९५ प्रतिशत भारतबाट फर्किने रहेका छन् ।

नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३, शनिबार ५५४, आइतबार ४६३, सोमबार ४७६ र मंगलबार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार थप एक जनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार उनको यही असार १४ गते सोही ठाउँको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते संक्रणम भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

विगत २४ घन्टामा ४६२ जना कोरोनामुक्त भएका छन् । तीमध्ये ३३ महिला र ४२९ पुरुष रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६५६ पुगेका छन् । जसमध्ये ३१० महिला र ३३४६ पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार धनुषा, बारा, सप्तरी, पाँचथर, धादिङ, ललितपुर, भक्रपुर, काठमाडौँ, सिन्धुली, चितवन, सुर्खेत, कपिलवस्तु र नवलपरासी जिल्लाका संक्रमित भएका छन् ।

उनका अनुसार देशभर हालसम्म २ लाख ३३ हजार २२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख २ हजार ६२१ भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४८ हजार ३६२ जना क्वारेन्टाइनमा र १० हजार ३६० जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया