काठमाडौँ । नेपालमा बिहीबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार २४ घन्टामा ६६४ जना निको भई घर फर्किएका छन् । यससँगै ५३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणबाट बिहीबार एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता विभिन्न मुलुकबाट नेपाल फर्किएकामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण हुनेमध्ये ९५ प्रतिशत भारतबाट फर्किने रहेका छन् ।

नेपालमा दुई सातायता गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३, शनिबार ५५४, आइतबार ४६३, सोमबार ४७६, मंगलबार ३१६ र बुधबार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, काठमाडौँ उपत्यकामा मात्र थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना संक्रमणपुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभरका प्रयोगशालामा गत २४ घन्टाभित्र ४५३७ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म २ लाख ३७ हजार ७६४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख २ हजार ६२१ भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४८ हजार ३६२ जना क्वारेन्टाइनमा र १० हजार ३६० जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया