चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट बिहीबार बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए ।

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उनले बताए ।

अहिले सशस्त्रको सो टोलीसहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।

वरिष्ठ उपरीक्षक धौबजीले भने, “जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने यकिन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला परेको छैन । ”

तपाईको प्रतिक्रिया