काठमाडौँ । नेपालमा बिहीबार देशभरका २३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार २४ घन्टामा ८२३ जना निको भई घर फर्किएका छन् । यससँगै छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक शिशुको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मुटुको समस्या भएको उनको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता विभिन्न मुलुकबाट नेपाल फर्किएकामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण हुनेमध्ये ९५ प्रतिशत भारतबाट फर्किने रहेका छन् ।

नेपालमा दुई सातायता गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३, शनिबार ५५४, आइतबार ४६३, सोमबार ४७६, मंगलबार ३१६, बुधबार ४८२ र बिहीबार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाही, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार देशभरका प्रयोगशालामा हालसम्म २ लाख ४२ हजार २४७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १० हजार ३०० भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ३५ हजार ४७२ जना क्वारेन्टाइनमा र ९०८४ जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया