काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोराोना पुष्टि भएको छ । देशभरका २३ वटा प्रयोगशालामा २४ घन्टामा ४०५० जनाको नमुना परीक्षणका क्रममा २३२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण शनिबार थप दुई जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार यही असाार १७ गते कतारबाट नेपाल आएका गोरखा पालुङटारका एक युवामा कोरोना संक्रमण देखिएपछि १९ गते काठमाडौँ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनी मधुमेहका पनि बिरामी थिए ।

उनको शनिबार बिहान मृत्यु भएको हो । यस्तै, अर्का संक्रमित रुपन्देहीका हुन् । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार २४ घन्टामा १०९५ जना निको भई घर फर्किएका छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या ६४१५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ४६ हजार २९७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १० हजार ३०० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ३३ हजार १२५ जना क्वारेन्टाइनमा र ९ हजार ४२ जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया