हेटौँडा । हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधि परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ ।

डा. दासले नमुना औषधि तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताए ।

सो प्रतिवेदन भित्रका मापदण्डहरू पूरा गर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको डा.दासले बताए । प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उनको भनाइ छ ।

डा.दासका अनुसार उनले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरू लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधि तयार भएको छ । उनले कोरोनाविरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागिसमेत मुखबाट सेवन गर्न मिल्ने औषधि गरी दुवै औषधिको नमुना नै तयार भएको दाबीसमेत गरेका छन् ।

साथै उनले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधिको समेत नमुना तयार भइसकेको र यी सबै औषधिको परीक्षणको लागि प्रतीक्षामा रहेको दाबी गरे ।

आफूले तयार गरेको औषधि शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिवेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाइ छ ।

उनले हाल नमुनाको रूपमा औषधि तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधि बनाउन पनि समस्या नरहेको बताए ।

डा.दासको उक्त कार्यलाई बागमती सरकारले प्रोत्साहन गर्दै सहयोग गर्ने भएको छ । यस्तो कार्यमा प्रदेश सरकारले चासो राख्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । डा. दासले तयार पारेका कोरोनाको औषधि परीक्षणको लागि प्रदेश सरकारले आर्थिकदेखि अन्य आवश्यक सबै खालको सहयोग गर्ने मन्त्री दुलालले बताए ।

विश्वमा नै कोरोनाविरुद्धको औषधि निर्माण तथा परीक्षण जारी रहेका समाचारहरू आउने गरेका छन्, तर पनि यसको औषधी या खोप नै पत्ता लागिसकेको छैन । रासस

तपाईको प्रतिक्रिया