चितवन । लकडाउनका कारण समस्यामा परेका वन्यजन्तुपीडित तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई आइतबार राहत वितरण गरिएको छ । काते एडम्सन कन्जरभेसन फन्डको आर्थिक सहयोगमा वाइल्ड लाइफ भिक्टिम फन्डले रत्ननगर–५ र ६ का ५२ परिवारलाई राहत वितरण गरेको हो ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरुलाई जनही २० किलो चामल, १ किलो दाल र आधा लिटर तेल प्रदान गरिएको संस्थाकी अध्यक्ष डोमा पौडेलले जानकारी दिइन् । बछौलीमा रहेको शिवालय मन्दिरमा आयोजित कार्यक्रममा वडा नं–६ का वडा सदस्य किरण महतो, संस्थाकी अध्यक्ष पौडेलले संयुक्तरुपमा राहत हस्तान्तरण गरेका थिए ।

वडा कार्यालयको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी, सदस्य रामचन्द्र सापकोटालगायत अन्य नेचर गाइड र संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।

जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वाइल्ड लाइफ भिक्टिम फन्डले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारलाई राहत प्रदान गरेको हो ।

तपाईको प्रतिक्रिया