चितवन । रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । रत्ननगर ४ की २७ वर्षीया उनी १२ दिनको उपचारपश्चात् कोरोनामुक्त भएकी हुन् ।

यही असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला असार १२ गते गुञ्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन् । पहिलो रिपार्ट पोजेटिभ आएको १२औँ दिनमा गरिएको दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा अंकित श्रीवास्तवले बताए ।

अस्पताल भर्ना हुँदा घाँटीमा सामान्य समस्या रहेकी उनलाई सिटामोल र सामान्य एन्टिबोयोटिकले नै निको भएको डा श्रीवास्तवले बताए । ‘औषधिले भन्दा पनि निरन्तरको काउन्सिलिङले उनलाई निको भएको हो’, उनले भने, ‘हामीले उहाँलाई दैनिक तीनपटकसम्म काउन्सिलिङ गरेका थियौँ ।’

अस्पतालमा मंगलबार आयोजित एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर उनलाई अस्पतालबाट बिदाइ गरेका हुन् ।

सो अवसरमा मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुञ्जमान सिंह अस्पताललाई धन्यवाद दिए । उनले भरतपुर अस्पतालमा हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी गुञ्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको बताए ।

बिदाइ कार्यक्रममा अस्पतालका प्रशासक मोहन खड्का, रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, स्वास्थ्य शाखाका उपप्रमुख नरहरि श्याम शर्मा, नगर प्रवक्ता राजेन्द्र हमाल, वडा नं ४ का वडाध्यक्ष रवीन्द्र चौधरीलगायतको सहभागिता रहेको थियो ।

कोरोना संक्रमित निको भएसँगै रत्ननगर नगरपालिका कोरोना संक्रमणमुक्त नगरपालिका भएको छ ।

तपाईको प्रतिक्रिया