
चितवन । पूर्वी चितवनका क्यामेरा-पर्सन मदन अच्छामी सम्मानित भएका छन् । ह्याप्पी मिडिया नेटवर्कले शुक्रबार चितवनको पर्यटकीय स्थल गोलाघाटमा आयोजना गरेको वार्षिक रमाइलो उत्सवअन्तर्गत उनलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
पूर्वीचितवनमा रहेको ह्याप्पी मिडिया नेटवर्कले भिडियोग्राफी, फोटोसुट, अडियो निर्माण, रेडियो तथा टेलिभिजनका लागि विज्ञापन निर्माण, प्रोफाइल निर्माण साथै फोटो तथा भिडियोको सम्पूर्ण कामहरुमा आफ्नो गतिविधि अगाडि बढाउँदै आइरहेको छ ।
कलाकार तथा व्यवसायी गोपाल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय लोक, भजन, चुड्का संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष टीकाराम लामिछाने, सौराहा अनलाइन तथा नेपाल टेलिभिजन चितवनका राजेन्द्र आचार्य अतिथि थिए ।
क्यामेरा-पर्सन कृष्ण बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्वी चितवनमा छायांकनको क्षेत्रमा विशेष पहिचान बनाउन सफल इमान बस्नेत, सरोज सुनार, यमन मगर, अर्जुन गुरुङलगायतको उपस्थिति थियो ।
चलचित्र तथा म्युजिक भिडियो कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रम ह्याप्पी मिडिया नेटवर्कका अध्यक्ष रामु आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोही कार्यक्रमको अवसरमा चेतनामूलक छोटो चलचित्र जमाना सुटिङ्ग गरिएको छ । छोटो चलचित्रमा गोपाल गुरुङ, अमृता क्षेत्री, टीकाराम लामिछानेलगायतको अभिनय रहेको निर्देशक सुरेन्द्र भण्डारीले जानकारी दिए ।