हेटौँडा । सिन्धुपाल्चोकमा बुधबार राति बाढीपहिरोमा ठूलो धनजनको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण अझै आउन सकेको छैन ।

सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । २० जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका–५, जम्बुमा स्थानीय याल्मो ठाडोखोलाले ११ वटा घर बगाएको छ । यसैबीचमा बागमती प्रदेशको सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको घटनामा चासो देखाउँदै सक्रिय भएका छन् ।

३ मन्त्री हेलिकप्टरमा

बागमती प्रदेशका ३ जना मन्त्री सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रतर्फ बिहीबार गएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल हेटौँडाबाट हेलिकप्टर लिएर प्रस्थान गरेका हुन् ।

उनीहरु बाह्रबिसे नगरपालिकाको जम्बु क्षेत्र र भोटेकोशी गाउँपालिकामा गएको पहिरोको कारण भएको क्षतिबारे जानकारी लिन र घाइतेहरुको उद्धारका लागि हेटौँडाबाट सिन्धुपाल्चोक प्रस्थान गरेका थिए । उक्त घटनामा प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जालमार्फत अपडेट गरिरहेका थिए ।

बागमती कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकमा बुधबार राति गएको बाढीपहिरोबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गरी उक्त घटनामा दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘भोटेकोशीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रविसे नगरपालिकामा क्षति पु¥याएको छ । विपद्को यस घडीमा यथाशीघ्र उद्धारको काम अघि बढाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, स्थानीय प्रशासनको समन्वयमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन पनि संसदीय दलको कार्यालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया