चितवन । नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो ।
शुक्रबार बिहानदेखि नदीले स्पर बगाउन थालेको भरतपुर महानगरपालिका२८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए ।
“पाँचवटा स्परमध्ये एउटा बगाएको हो”, उनले भने, “नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।”
सो क्षेत्रमा आसपासका स्परहरुसमेत बगाउने खतरा बढेकाले रोकथामको काम गरिएको उनले जानकारी दिए । भरतपुर महानगरपालिकाको वडा नं १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।
यसैबीच, नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघेको छ । शुक्रबार दिउँसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नारायणी र देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो । नारायणीमा अझै जल सतह बढ्न सक्ने महाशाखाले जनाएको छ । देवघाटमा रहेको जल मापन केन्द्रले दिउँसो ३ बजेसम्म ७।७७ मिटर र नारायणगढ पुलमा ११।१७ मिटर पानी मापन गरेको छ ।
बाढीले खतरा पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तल्लोतटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवन र नवलपरासीले आग्रह गरेका छन् । रासस












