
भरतपुर । नारायणी नदीको जलसतह खतराको तहनजिक पुगेको छ । दिउँसो १२ः३५ बजे गरिएको मापनअनुसार देवघाटमा जलसतह ७.८४ मिटर र नारायणगढ पुल नजिकको जलसतह ११.३९ मिटर पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देवघाटमा नारायणी नदीको जलसतह ८ मिटरलाई खतराको तह मानिन्छ । यसअघि बिहान ११ः२५ बजे दुवै ठाउँमा जतसतहले सतर्कता तह नाघेको थियो ।
जलसतह बढ्दै गएपछि चितवन र नवलपुरमा पर्ने नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरुलाई उच्च सतर्कता अपनाउने आग्रह गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं १६, २७ र २८ मा विशेष सतर्कता अपनाउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गरेका छन् ।