
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ५८५६ जनाको नमुना परीक्षणका क्रममा १४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन १७०५ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १० हजार २९४ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६०.७ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ८९ हजार ३७१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा र ६६१३ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४७ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।