महेश पाण्डे
३० असार, चितवन । चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौतीसंगै कोरोना महामारीमा आयुर्वेदको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा आज (मंगलबार) रत्ननगरमा जनप्रतिनिधि एंव सञ्चारकर्मीसंग अन्र्तक्रिया संगै आयुर्वेदको महत्व प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डा. कोपीला अधिकारीले उपस्थित सबैलाई हालका दिनमा केन्द्रले गरेका काम र आयुर्वेदिक पद्धतीबाट हुने उपचारको बारेमा जानकारी दिएकी थिईन । उनले रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बि.स. २०५१ सालमा स्थापना भएको भएपनि हालका दिनमा केन्द्रमा उपलब्ध सेवाहरुको बारेमा धेरैलाई जानकारी नभएको बताईन ।

उनले हाल बकुलहर केन्द्रबाट नियमीत स्वास्थ्य परिक्षण, निशुल्क आयुर्वेदिक औषधी आवश्यकता अनुसार वितरण, दुखाई व्यवस्थापन, तनाव व्यवस्थापन, पिनास, आँखा सम्बन्धि समस्या, जीवनशैली ब्यवस्थापन, मधुमेह, उच्च रक्तचाप, थाईराइड, पाइल्स, फिसर, पक्षाघात, वाथ, ढाड कम्मर दुख्ने, महिनाबारीको समस्या, बच्चामा लाग्ने बिभिन्न रोगहरुको उपचार भईरहेको जानकारी दिईन ।

अधिकारीले हाल केन्द्रमा जनशक्तीको केहि अभाव रहेको र भवन जिर्ण भएका कारण दैनिक धेरैजनालाई एकै पटक सेवा दिन नसकिएको भएपनि नया भवन निर्माण भईरहेकोले त्यस पस्चात भने केहि सहज हुने बताईन । उनले हालका दिनमा बिश्वमा देखिएको कोरोना भाइरसको महामारीबाट बच्न रोगसंग लड्ने क्षमता अभिबृद्धी गर्ने आयुर्वेदीक जडीबुुटीहरु हामीमाझमा धेरै रहेको बताउदै जडिबुटीको पहिचान गर्नसके मात्र पनि धेरै फाइदा हुने बताइन ।

कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका सांसद तथा स्वास्थ्य, शिक्षा एंव कृषी समितिका सभापति घनश्याम दाहालले पछिल्लो समय आयुर्वेदिक औषधी ओझेलमा परेको बताए । उनले पहिला पहिला बिरामी हुदा वा हात खुट्टा भाचिदा अस्पताल लाने चलन नभएको र सो समयमा आयुर्वेदिक औषधिको प्रयोग गरेर निको हुने अवस्था रहेको तर ति आर्युवेदीक औषधीको प्रचार प्रसार हुन नसक्दा नया पुस्तालाई उक्त कुराको जानकारी हुन नसकेको बताए । उनले नेपाली जडिबुटी बिदेश गएर पुन नेपालमा औषधी बनेर आउने गरेको र उक्त औषधी महगोंमा खरिद हुने गरेको औंलाउदै अब जडीबुटीको उत्पादनसंगै प्रसोधन पनि नेपालमै हुनु पर्ने कुरामा जोड दिए । उनले त्यसका लागि प्रदेश सरकारले प्राथमीकतामा राखेर काम अगाडी बढाउने बताए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले हालका दिनमा जसलेपनि एलोपेथिक औषधीको मात्र प्रयोग गर्ने गरेकाले त्यसले स्वास्थ्यमा पार्ने बेफाईदा बढि भएको भन्दै अब सबैजना आयुर्वेदीक औषधी तिर लाग्नुपर्ने बताए । उनले अब हरेक घरले केहि न केहि आयुर्वेदिक बोट लगाउन पर्ने बेला आएको बताउदै त्यसको उत्पादन खरिद गर्न जडिबुटी सहकारी रहेको जानकारी दिए । उनले अब रत्ननगरमा रहेका सार्वजनिक जग्गामा जडिबुटी लगाउने अभियान आफुले चलाउने पनि बताए ।
कार्यक्रममा प्रदेश सांसद बिजय सुवेदी, रत्ननगर नगरपालिकाकी उप मेयर बिमला दुवाडी, रत्ननगरका बिभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु र सञ्चारकर्मीहररुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया