काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४३६१ जनाको नमुना परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन ३४ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६०।७ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ९३ हजार ७३९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा र ६६९५ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४७ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।