काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २६ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ५०९० जनाको पिसिआर परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ६११४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन ६९७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६४.७ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

प्रवक्ता डा गौतमका अनुसार बुधबार देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनहुँ, सल्यान र दैलेखमा तीन÷तीन जना रहेका छन् ।
यस्तै, डडेल्धुरा, जुम्ला र सल्यानमा दुई÷दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक÷एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रवक्ता डा गौतमका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको हो ।

मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फकिएर पारहवाकै आइसोलेसनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए ।

आइसोलेसनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो । ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ९८ हजार ८२९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २४ हजार ५२७ जना क्वारेन्टाइनमा र ६११३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४७ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया