काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४९८१ जनाको पिसिआर परीक्षणका क्रममा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन २१३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार २४९ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६४.८५ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

बिहीबार देखिएका सङ्क्रमितमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका दुई र सुनसरीका चार, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका दुई, उदयपुरका एक र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका तीन र ओखलढु्ङ्गाका १५ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका दुई, बाराका एक र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशालामा धनुषाका एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका एक जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौँडामा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका तीन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका दुई र स्याङजाका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्यूठानका एक/एक तथा भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका आठ, सुर्खेतका दुई, बर्दिया र दाङका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका एक, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका एक, सल्यान र जाजरकोटका दुई÷दुई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका एक, डडेल्धुरा अस्पतालमा डडेल्धुराका आठ तथा सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका चार, कैलाली र कञ्चनपुरका १४÷१४ र बझाङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ३ हजार ८१० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल २५ हजार ५०० जना क्वारेन्टाइनमा र ६०५६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया