चितवन । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छूट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छूट दिइएको हो ।

प्रतिष्ठित व्यवसायी एवं सांसद् विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छूट दिने निर्णय गरेको मलका प्रबन्ध सञ्चालक राजेन्द्र अर्यालले जानकारी दिए । सिजी ल्यान्डमार्क सांसद् चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबलअन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।

मलका व्यवस्थापक उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् ।

सरकारले सपिङ कम्प्लेक्स सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।

सामाजिक दूरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सुक्ष्मरूपमा निगरानी गरेर ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको केसीले जानकारी दिए ।

मल व्यवस्थापनले सामाजिक दूरीको लागि मार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङलगायत छोइने वस्तुहरुलाई नियमितरूपमा निःसङ्क्रमित गर्ने गरेको उनको भनाइ छ । सो मलमा ब्राण्डेड सामानका पसल, फिल्महल, रेष्टुरेन्ट, होटल रहेका छन् ।

तपाईको प्रतिक्रिया