काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारका काम कारबाही पारदर्शी र प्रतिस्पर्धी हुने दाबी गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्यायोजना सार्वजनिक गर्दै उनले सरकारका कारबाहीहरु पारदर्शी हुने र खरिदहरु प्रतिस्पर्धी हुने बताउँदै सरकारले गर्ने कामहरु विधिसम्मत र नियमसम्मत हुने दाबी गरेका हुन् ।

उनले सञ्चार मन्त्रालयअन्तर्गतका केही काम कारबाहीहरु विगतमा विवादमा आएको भए पनि आगामी दिनमा सबै काम कारबाही पारदर्शी र प्रतिस्पर्धी हुने दाबी गरे ।

कर्मचारीतन्त्र र राष्ट्र सेवकहरु सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गराउने मूल खम्बा रहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले राजनीतिक व्यक्तित्वले सामान्य निर्देशन दिने भएकाले त्यसलाई विधि, कानून र निमयमा रहेर कार्यान्वयन दायित्व कर्मचारीको रहेको बताए ।

राजनीतिक नेतृत्वले गलत निर्देशन दिन नहुने र त्यस्तो अवस्था आए कर्मचारीतन्त्रले समेत कार्यान्वयन गर्नु आवश्यक नहुने उनको भनाइ थियो ।

सञ्चार मन्त्रालयलाई सबैभन्दा राम्रो साख भएको मन्त्रालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने “२१औँ शताब्दीको सञ्चार र सूचना प्रविधिमा भइरहेको परिवर्तनलाई स्वीकारेर त्यो अनुसारको पूर्वाधार, जनशक्ति र प्रशासकीय तयारी गर्नु जरुरी छ ।”

सरकारको कार्यक्रम कार्यान्वयन गरेर सञ्चार मन्त्रालय पहिलो नम्बरमा पुग्न शुभकामना दिँदै मन्त्री डा खतिवडाले भने “राम्रो काम गर्नका लागि हौसला दिन चाहन्छु । हाम्रा वार्षिक कार्ययोजना छाप्न र दराजमा थन्क्याउनका लागि मात्रै होइन । कार्यान्वयनका लागि हुन् ।”

मन्त्री डा खतिवडाले आफ्ना काम कारबाहीको नियमित अनुगमन र समीक्षा हुनुपर्ने स्पष्ट पार्दै साप्ताहिक रुपमा आफ्नै कार्यालयभित्र, मासिकरुपमा मन्त्रालयमा, द्वैमासिक औपचारिकरुपमा मन्त्रालयमै छलफल गर्ने र चौमासिकरुपमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लगेर समाधान गर्ने तवरले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “समस्या के हो र समाधानका उपाय पनि के हुन् भन्ने तरिकाले आउनुपर्छ । समस्यामात्रै लिएर आयो भने नतिजा निस्कँदैन ।”

उनले सञ्चार तथा सूचना प्रविधिसँग जोडिएको मन्त्रालय भएकाले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सरकारका सरोकार सर्वाधिक चासोको विषय बन्ने बताए ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कको नारासमेत कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले त्यो अर्थतन्त्रमा मात्रै नभई शासकीय विषयलाई समेत समेटिएको बताए । डिटिजल नेपालका लागि पूर्वाधार पहिलो शर्त भएको भन्दै उनले जनशक्तिको विकास गर्दै सञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाउने क्रमिक दायित्वलाई पूरा गरिने उल्लेख गरे ।

कार्ययोजनामा नपरेका र दैनिक समस्यालाई हल गरेर जाने भन्दै उनले कार्यसम्पादन करार सम्झौतासमेत छिट्टै अगाडि बढ्ने जानकारी दिए ।

मन्त्री डा खतिवडाले आफ्नो मूल्याङ्कन आफैँ गर्ने गरी प्रणालीको विकास गर्नसमेत निर्देशन दिए । उनले भने “दिनभरी कार्यालयमा बसेर इन्टरनेटमा मात्रै खेलेर बेलुका घर जाँदा आज मैले तलब खाए बराबर के काम गरेँ भनेर आफ्नो मूल्यांकन गर्ने हो भने त्योभन्दा राम्रो मूल्यांकन अरु केही हुन सक्दैन ।”

उनले आफ्नो कार्यकालमा मात्रै नभई भविष्यमा पेन्सनसमेत लिने अवस्थामा समेत सन्तोषका साथ रहने वातावरण बनाउनुपर्ने बताए । मन्त्री डा खतिवडाले भने “भोलि पेन्सन खाइरहँदा मै के काम गरेछु र पेन्सन खान पाएछु भन्दा सन्तोषले मैले राष्ट्रका लागि यति सेवा गरेँ । त्यसबापत मलाई राष्ट्रले सम्झेको छ भन्न पाइयोस् न !”

उनले आफैँले आफैँलाई मूल्यांकन गरेर कमजोरी भएको विषयलाई आत्मसात् गरेर अगाडि बढ्दा त्यसले सर्वोपरी हित गर्ने र सोही दिशामा केन्द्रित हुनसमेत आग्रह गरे ।

मन्त्री डा खतिवडाले आफ्नो तल र माथि दुवैतर्फ जिम्मेवारी भएकाले इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै कार्यसम्पादन अनुसारको भूमिका निर्वाह गर्न सबैलाई ध्यानाकर्षण गराए । चालु आवको नीति तथा कार्यक्रममा मन्त्रालयका नौ र बजेटमा १० वटा महत्त्वपूर्ण विषय समेटिएका छन् ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले इमान्दार भएर सरकारको लक्ष्यअनुसारको कार्यसम्पादन गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनालाई इमान्दार भएर कार्यान्वयन गर्नसमेत आग्रह गरे । रासस

तपाईको प्रतिक्रिया