काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४६८८ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन २८५ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६।१२ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।
प्रदेशअन्तर्गत कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा ४४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा १३५७, प्रदेश नं ५ मा ४१३५, कर्णाली प्रदेशमा १८०४ र सुदूरपश्चिम प्रदेशमा ४००३ जना रहेका छन् ।
जसमा हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय वृद्ध रहेका छन् । मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या भएका निजको बुधबार स्वास्थ्यमा समस्या आएपछि बीपी प्रतिष्ठान धरानमा उपचार गराइएकोमा कोरोनासँग सम्बन्धित लक्षण देखिएपछि स्वाब परीक्षण रिपोर्टमा पोजेटिभ देखिएपछि आइसोलेसन सारेर उपचारकै क्रममा मृत्यु भएको हो । यससँगै प्रदेश नं १ मा कोरोनाबाट मृत्यु हुने पहिलो केस भएको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ८ हजार ४९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल १२ हजार ७५६ जना क्वारेन्टाइनमा र ५८७१ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।