काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ३३३१ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । जसमा ५८२५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन १०३ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६.१२ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ११ हजार ८२९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा र ५८२५ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया