काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ३७४१ जनाको पिसिआर परीक्षणका क्रममा १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । जसमा ५९२३ जना संक्रमित उपचाररत छन् ।
नयाँ देखिएका सङ्क्रमितमा सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०÷१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ÷छ जना, बाँके र दाङमा पाँच÷पाँच जना रहेका छन् ।
यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई÷दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक÷एक जना सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन ५८ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६।२४ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख १५ हजार ५७० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल २२ हजार ६६२ जना क्वारेन्टाइनमा र ५९२३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।