काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४३०२ जनाको पिसिआर परीक्षणका क्रममा १८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । जसमा ५९३६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन १७३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख १९ हजार ८७२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल २२ हजार २२८ जना क्वारेन्टाइनमा र ५९३६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया