
चितवन । चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटर माथि आइसकेको छ ।
वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । सो स्थानमा जलसतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११.९८ मिटर पार गरेको बैद्यले बताए।
विभागले खतराको तह पार गरेको स्थानको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्वी नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनि सकिएको बैद्यले जानकारी दिए ।
यस्तै, कोशीमा सतर्कताको तहपार गरेकाले मङ्गलबारसम्म खतराको तहपार गर्नसक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने अनुमान विभागले गरेको छ ।
यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा शुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिना पछिसम्म पानीपर्ने देखिएको छ ।
चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात् हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षात्को दर उच्च रहेको छ । मनसुन हुने चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढीपर्ने समय हो ।
यसपटक मनसुनको सुरुदेखि नै अत्यधिक पानी परिरहेको छ यो क्रम आगामी कात्तिकसम्म जारी रहनेछ । एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए ।
हरेक मनसुनमा बाढी पहिराका कारण हुने क्षति घटीबढी हुने भन्दै बैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए । रासस