चितवन । पूर्वी चितवनमा राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । माछा मार्न गएका खैरहनी ११ का २९ वर्षीय राजन बोटेको मृत्यु भएको हो । सो नदीको लामाघाटबाट सोमबार ५ बजे हराएका बोटेको शव मंगलबार बिहान ८ बजे दुई किलोमिटर पर खत्रीघाटमा भेटिएको वडाध्यक्ष हाकिमसिंह उप्रेतीले जानकारी दिए ।
राप्तीमा आएको बाढीले बोटेलाई बगाएको स्थानीयवासीले बताएका छन् । बोटे अन्य दुई जना साथीसँगै माछा मार्न गएका थिए । यसैबीच, इच्छाकामना गाउाँपालिका ५ स्थित पानीधारा बस्ने विष्णुप्रसाद श्रेष्ठको दुई तले पक्की घर र सोही ठाउँका कुमार श्रेष्ठको दुई तले पक्की घर त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दिलकुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मानबहादुर बि.क. र कुमार बि.क.को घर अति जोखिममा रहेको छ ।

तपाईको प्रतिक्रिया