चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।

वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । तीमध्ये एक जना अन्दाजी १५ वर्षीया बालिका र अर्का ५५ वर्षीय एक पुरुष रहेको छ । ती शव सडेको अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव आज फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ । त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए । बग्दै गरेको शव देखिए पछि स्थानीयवासीको सहयोगमा प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया