चितवन । पूर्वी चितवनको रत्ननगर–१ निवासी पुडासैनी दम्पतीको उपचारका लागि बुधबार २० हजार रूपैयाँ आर्थिक सहयोग गरिएको छ ।

मोटरसाइकल दुर्घटनामा परी ६ वर्षअघि टाउकोको शल्यक्रिया गरेका ७७ वर्षीय हरिप्रसाद पुडासैनी र ब्रेनको नसाले काम गर्न छाडेर अर्थचेत अवस्थामा रहेकी उनकी श्रीमती पूर्णमायाको उपचारका लागि सहयोग गरिएको हो ।

जनसम्पर्क समिति अस्ट्रेलिया डार्बिनका संयोजक सविन बरालको अनुरोधमा सचिव सञ्जीव ढकालले सो रकम सहयोग गरेका हुन् । ढकालले अस्ट्रेलियाबाट पठाएको सो रकम नेपाली कांग्रेस रत्ननगर नगर समितिले दम्पतीका परिवारलाई हस्तान्तरण गरेको हो ।

नगर सभापति रुपनराज घिमिरे, सचिव सीतादेवी शर्मालगायतका नगरस्तरीय नेताहरुले दम्पतीका छोरा सुमन पुडासैनीलाई रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर सभापति घिमिरेले पार्टीको सामाजिक अभियातअन्तर्गत आर्थिक अवस्था कमजोर भएका दम्पतीलाई उपचारका लागि सहयोग गरिएको बताए ।

पुडासैनी दम्पतीलाई एक महिनामा करिब १० हजारको औषधि खरिद गर्नुपर्ने बताइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुलाई औषधि खरिद गर्नसमेत समस्या परेको छ ।

तपाईको प्रतिक्रिया