काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३७७९ जनाको पिसिआर परीक्षणका क्रममा १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । जसमा ५३६८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६र६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३र३ जना, बर्दिया र सल्यानका २र२ जना तथा चितवन र बझाङका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकै दिन २०७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ७०.१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको छ ।

पोखरामा कार्यरत ४९ वर्षीया चिनियाँ नागरिकको स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । उनको थप उपचारका लागि साउन २ मा हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

उनको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो ।

यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भई साउन २ गते नै अस्पताल लगिएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा ६ गते मृत्यु भएको थियो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख २७ हजार ६१४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल २० हजार ८४२ जना क्वारेन्टाइनमा र ५३६८ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५९ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया