काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३४८१ जनाको पिसिआर परीक्षणका क्रममा १४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । जसमा ५३५८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकै दिन १५६ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ७०.३९ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ३१ हजार ९५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल २० हजार ९८ जना क्वारेन्टाइनमा र ५३५८ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३८७ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया