काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ४०७५ जनाको पिसिआर परीक्षणका क्रममा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । जसमा ५३८३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ७६ हजार ५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल १९ हजार ३३५ जना क्वारेन्टाइनमा र ५३४५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै कोरोना संक्रमण निको भई १०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया