काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५४४० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ४२ हजार ४५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

उनका अनुसार हाल १७ हजार ९०३ जना क्वारेन्टाइनमा र ५४४० जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै कोरोना संक्रमण निको भई ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार २२८ पुगेको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३९५ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया