काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३११ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ५०३२ पिसिआर परीक्षणका क्रममा ३११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ८८३ पुगेको छ । जसमा ५१३९ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल १५ हजार ३३१ जना देशभरका क्वारेन्टाइनमा र ५१३९ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै मंगलबार एकै दिन कोरोना संक्रमण निको भई १२१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । जुन कुल संक्रमितको ७५।५ प्रतिशत हो । हालसम्म काठमाडौँ उपत्यकाभित्र ४०१ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।